Re-post: काठमाडौँमा हिमालय क्षेत्रका सञ्चार-विज्ञहरूको संगोष्ठी सम्पन्न

Reposted from : nepalkhabar,Nepel

https://nepalkhabar.com/entertainment/society/255318-2025-11-9-10-53-59

First publish date: कात्तिक २३, २०८२ आइतबार १०:५३, काठमाडौँ

हिमालय क्षेत्रमा सञ्चारको प्रभावकारी साझेदारीमा जोड दिँदै काठमाडौँमा तेस्रो परा‍-हिमालय सञ्चार तथा समाजिक संगोष्ठी सम्पन्न भएको छ।

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभाग र सिचुवानस्थित युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी अफ चाइना (यूइएसटीसी) को स्कुल अफ पब्लिक एडमिनिस्ट्रेसनको संयुक्त आयोजनामा भएको संगोष्ठीमा हिमालय आसपासका देशहरूका विज्ञ, शिक्षाकर्मी, शैक्षिक संस्था, सञ्चचार संस्था सहभागी भएका थिए। 

दुई दिनसम्म चलेको संगोष्ठीमा उनीहरूले प्रभावकारी सञ्चार तथा सामाजिक विकासका लागि सामूहिक प्रतिबद्धता जनाउँदै यस क्षेत्रको विकासमा विभाजन नभई साझेदारीमा जोड दिएका छन्।

सम्मेलनमा युनिभर्सिटी अफ टेक्ससका प्रध्यापक अरविन्द सिङ्गलले हिमालय क्षेत्रका देशहरूको साझा संस्कृतिले जोडिनुका साथै साझा समस्यासँग जुधिरहेको बन्दै यस क्षेत्रका देशहरूबाट सञ्चारमाध्यमले साझा कथा बोल्नुपर्ने बताए।

सञ्चारका प्रस्तुतिहरूको समस्या समाधानका आवाज बन्नुपर्ने उनले बताए। साथै कुमाउ विश्वविद्यालयकी प्रध्यापक दीपिका पन्तले पहाडी क्षेत्रका महिलाहरूको संघर्ष र जीवनशैली नै यस क्षेत्रको प्रभावकारी सञ्चारको उदाहरण भएको बताइन्।

उनले आधुनिकतासँगै भाषा संस्कृति लोप हुँदै गर्दा पुरानो इतिहास पनि मेटिने सम्भवाना रहेको बताइन्।

संगोष्ठीमा भुटानको सूचना तथा मिडिया विभागका संस्थापक दाबा पेन्जोरले हिमालय आसपासका देशहरूले आफ्नो संस्कृति जोगाउँदै आधुनिक प्रविधिको अंगिकार गर्ने बताए।

त्यस्तै युनिभर्सिटी अफ पन्जाबकी प्राध्यापक अविधा अस्रफले हिमालय क्षेत्र जलवायु परिवर्तनको मारमा रहेको भन्दै साझा समस्या समाधानका लागि साझा प्रयासहरूको आवश्यकतामा जोड दिइन्। 

देशका सीमाले प्राकृतिक प्रकोप नछेक्ने बताउँदै उनले सञ्चारका सिग्नल पनि रोकिन नहुने माग राखिन्। 

हिमालय आसापासमा सञ्चारको साझेदारी आवश्यक रहेको बताइन्।

पान हिमालय कम्युनिकेसन रिसर्च सेन्टरका निर्देशक हान होङले हिमालय आसपासका देशबीचको साझेदारी यस क्षेत्रको सामूहिक विकास शान्ति र स्थायित्वयमा योगदान पुर्‍याउने बताए।

पेरिफेरियल डिजिटल कम्युनिकेसन एन्ड रिजनल पब्लिक गभर्नेन्स भन्ने मुख्य नारासहित आयोजित संगोष्ठीमा ९ देशका १५० भन्दा बढी विज्ञको सहभागिता थियो।

सम्मेलनमा समानान्तर पाँच सत्रमा ६० कार्यपत्र प्रस्तुत गरिएका थिए। 

यसैबीच संगोष्ठीकै क्रममा त्रिवि र यूइएसटीसीका जनप्रशासन विभागले संयुक्त रूपमा रिसर्च सेन्टर फर डिजिटल एन्ड इन्टिलिजिन्ट पब्लिक गभर्नेन्स इन पान हिमालय रिजनको स्थापना गरेका छन्।

Share this page on:

Facebook
LinkedIn
Email