हिमालय क्षेत्रका सञ्चारविज्ञको काठमाडौँमा जमघट‚ समस्या समाधानमा साझेदारीको प्रतिबद्धता

Reposted from:https://nepalnews.com/2025/11/08/himalayan-media-experts-gather-in-kathmandu-pledge-partnership-in-problem-solving/

काठमाडौँ। हिमालय क्षेत्रमा सञ्चारको प्रभावकारी साझेदारीमा जोड दिँदै तेस्रो परा-हिमालय सञ्चार तथा समाजिक सङ्गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ।त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभाग र सिचुवान स्थित युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी अफ चाइना (यूईएसटीसी)को स्कुल अफ पब्लिक एडमिनिस्ट्रेसनको संयुक्त आयोजना भएको सङ्गोष्ठीमा हिमालय आसपासका देशहरुका विज्ञ, शिक्षाकर्मी, शैक्षिक संस्थाहरु, सञ्चार संस्थाहरुले प्रभावकारी सञ्चार तथा सामाजिक विकासका लागि सामूहिक प्रतिबद्धता जनाएका छन्।दुई दिन चलेको सङ्गोष्ठीमा बोल्ने वक्ताले यस क्षेत्रको विकासमा विभाजन नभई साझेदारीमा जोड दिएका छन्। सम्मेलनमा युनिभर्सिटी अफ टेक्ससका प्रध्यापक अरविन्द सिङ्गलले हिमालय क्षेत्रका देशहरु साझा संस्कृतिले जोडिनुका साथै साझा समस्यासँग जुधिरहेको बन्दै यस क्षेत्रका देशबाट सञ्चारमाध्यमले साझा कथा बोल्नुपर्ने बताए। सञ्चारका प्रस्तुतिहरु समस्या समाधानका आवाज बन्नुपर्ने उनको भनाइ छ।साथै कुमाउ विश्वविद्यालयकी प्रध्यापक दीपिका पन्तले पहाडी महिलाहरु यस क्षेत्रका समावेशी आवाज भएको भन्दै पहाडी क्षेत्रका महिलाहरुको संघर्ष र उनीहरुको जीवनशैली नै यस क्षेत्रको प्रभावकारी सञ्चारको उदाहरण भएको बताइन्। उनले आधुनिकतासँगै भाषा संस्कृति लोप हुँदै गर्दा पुरानो इतिहास पनि मेटिने सम्भवाना रहेको बताइन्। संगोष्ठीमा भुटानको सूचना तथा मिडिया विभागका संस्थापक दाबा पेन्जोरले हिमालय आसपासका देशहरुले आफ्नो संस्कृति जोगाउँदै आधुनिक प्रविधिको अंगीकार गर्ने बताए।त्यस्तै युनिभर्सिटी अफ पञ्जाबकी प्रध्यापक अविधा अस्रफले हिमालय क्षेत्र जलवायु परिवर्तनको मारमा रहेको भन्दै साझा समस्या समाधानका लागि साझा प्रयास आवश्यक रहेको बताइन्। देशहरु सीमारेखाले विभाजित भए पनि प्राकृतिक प्रकोपहरुलाई सीमाले नछेक्ने बताउँदै उनले सञ्चारका सिग्नलहरु पनि रोकिन नहुने बताइन्। हिमालय आसापासमा सञ्चारको साझेदारी आवश्यक रहेको बताइन्।पान हिमालय कम्युनिकेसन रिसर्च सेन्टरका निर्देशक हान होङले हिमालय आसपासका देशहरुबीचको साझेदारी यस क्षेत्रको सामुहिक विकास शान्ति र स्थायित्वयमा योगदान पुर्‍याउने बताए।पेरिफेरियल डिजिटल कम्युनिकेसन एन्ड रिजनल पब्लिक गभर्नेन्स भन्ने मुख्य नाराका साथ चलेको सङ्गोष्ठीमा विभिन्न ९ देशका १५० बढी विज्ञको सहभागिता थियो। सम्मेलनमा समानान्तर पाँच सत्रमा ६० कार्यपत्र प्रस्तुत भए। यसैबीच सङ्गोष्ठीकै क्रममा त्रिवि र यूईएसटीसीका जनप्रशासन विभागले संयुक्त रुपमा रिसर्च सेन्टर फर डिजिटल एन्ड इन्टिलिजिन्ट पब्लिक गभर्नेन्स इन पान हिमालय रिजनको स्थापना गरेका छन्।

Share this page on:

Facebook
LinkedIn
Email