Re-posted from:Samayahub.com Date: October 2nd, 2024
Original Link :https://samayahub.com/bazzar/2024-10-02-5395

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल र चीनबिच डिजिटल सञ्चार तथा प्रविधिमा साझेदारी बढाउनुपर्नेमा जोड दिएका छन्। काठमाडौँ विश्वविद्यालयमा आयोजित तीनदिने दोस्रो परा–हिमालय सञ्चार तथा सामाजिक विकास सङ्गोष्ठी कार्यक्रमको बुधबार उद्घाटन गर्दै उनले डिजिटल सञ्चारको महत्त्व बढ्दै गएको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीन नेपालको विश्वासिलो मित्र राष्ट्र भएकोले सञ्चारको सवालमा चीनसँगको सहकार्य महत्त्वपूर्ण हुने बताए। कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले सूचना प्रविधिले निम्त्याउने चुनौतीलाई कसरी अवसरमा बदल्ने भन्ने आजको प्रमुख बहसको विषय रहेको बताए।
विश्वविद्यालयको स्कुल अफ आर्टसकी डीन एक्कु माया पुनले विश्वविद्यालयको पठनपाठनमा डिजिटल प्रविधि तथा सञ्चारको प्रयोग सम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञानको पक्षलाई ध्यान दिएको बताए।
कार्यक्रममा युनिभर्सिटी अफ इलेकट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइनाका कुलपति जान सुनले डिजिटल प्रविधि तथा सञ्चारको व्यापकताको बारेमा आफ्नो भनाइ राखेका थिए। कार्यक्रममा त्यसैगरी युनिभर्सिटी अफ इलेकट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइनाको स्कुल अफल पब्लिक एड्मिनिष्ट्रेसनका भाइस डीन प्राध्यापक हु जुनले दोस्रो परा–हिमालय सञ्चार तथा सामाजिक विकासको महत्त्वका बारेमा चर्चा गरेका थिए। तीन दिनसम्म सङ्गोष्ठीमा नेपाल, चीन, भारत, भुटान, पाकिस्तान, संयुक्तराज्य अमेरिकालगायत मुलुकका प्राज्ञिक व्यक्तिको सहभागिता रहेको छ।
त्यसैगरी चीनको काङ्बा टेलिभिजनकी सम्पादक चेमी वेङमो, जेजियाङ विश्वविद्यालयका प्राध्यापक वो फेइ, फोस्करी विश्वविद्यालयका प्राध्यापक घानी–उर–रहमान, भुटानकी शोधकर्ता याङ चेन सी रिन्जिन, दिल्ली विश्वविद्यालयकी प्राध्यापक सरिता आनन्द र चीनका प्राध्यापक हान होङ वक्ताका रूपमा रहेका छन्। युनिभर्सिटी अफ इलेकट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइना र काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागको संयुक्त आयोजना भएको सङ्गोष्ठीमा तीन दिनमा करिब एक सय वटा कार्यपत्र प्रस्तुत हुने काठमाडौँ विश्वविद्यालयले जनाएको छ।