सञ्चार तथा सामाजिक विकाससम्बन्धी चारदिने अन्तर्राष्ट्रिय संगोष्ठी बुधबारबाट सुरु

Re-posted from: Nayapatrika daily   Date: October 2nd, 2024

Original Link :https://www.nayapatrikadaily.com/news-details/150923/2024-10-02

दोस्रो परा हिमालय सञ्चार तथा सामाजिक विकास संगोष्ठी बुधबारबाट धुलिखेलमा सुरु भएको छ। चार दिवसीय संगोष्ठीको उद्घाटन सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका हुन्। चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी अफ चाइना र काठमाडौं विश्वविद्यालयको आथित्यमा भएको सम्मेलन पान–हिमालयन कम्युनिकेसन रिसर्च सेन्टर, सिचुआन फिलोसोपी एन्ड सोसल साइन्सकी ल्याब्रोटरी अफ डिजिटल एन्ड पब्लिक गभर्नेन्स, रिसर्च सेन्टर अफ रिजन पब्लिक एडमिनिस्टर्सको आयोजनामा सुरु भएको हो।

सम्मेलनको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले नेपाल र चीन परम्परागत मित्र भएको बताउँदै दुई देशबिचको सहकार्यमा हिमालय क्षेत्रले व्यहोरिरहेको साझा समस्याको समाधान गर्न सकिने बताए। उनले नेपाल र चीन नदी, हिमाल सँगसँगै संस्कृतिले समेत जोडिएको भन्दै चीनले नेपालको विकासमा पुर्‍याएको योगदानप्रति धन्यवाद दिए।

उनले चिनियाँ विश्वविद्यालमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै ज्ञानको आदान–प्रदानमा सहयोग पुर्‍याएको बताए। उनले सञ्चार तथा प्रविधिको साझेदारीले दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने बताए। सम्मेलनमा नेपाल, चीनसहित भारत, पाकिस्तान, भुटानलगायतका १२० भन्दा बढी विज्ञहरूको सहभागिता रहेको छ।

सम्मेलनका दौरान सञ्चार सामाजिक विकासका विषयमा ५० भन्दा ढी कार्यपत्र प्रस्तुत हुनेछन्। परा हिमालय क्षेत्र पछिल्ला दशकहरूमा चीनको बेल्ट एन्ड रोड परियोजनाको मुख्य साझेदारको रूपमा रहँदै आएका छन्। ‘यही फ्रेमवर्कमा रहेर यस क्षेत्रका विज्ञहरूले साझेदारी साझा अवधारणा निर्माण तथा हिमाल वारपार सम्बन्ध विस्तारमा महत्त्वपूर्ण काम गर्दै आएका छन्। पछिल्लो समय यस क्षेत्रका देशहरू जलवायु परिवर्तन गरिबी सुरक्षालगायतका साझा समस्याबाट जुधिरहेका छन्,’ प्राध्यापक हानले भने, ‘यसले तीव्र रूपमा विकास भइरहेको सूचना प्रविधिको साझेदारीले यी समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने साझा अवधारणा तयार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’

साझा समस्याको समाधानका लागि यस क्षेत्रका विज्ञहरूको साझा सञ्चारसम्बन्धी मञ्च निर्माण गर्दै सूचनाको आदान–प्रदानका लागि महत्त्वपूर्ण रहने हुँदा संगोष्ठीले साझा तथा प्रभावकारी साझेदारीको बाटो निर्माण गर्ने उनको भनाइ छ। संगोष्ठीले बिआरआईको विकासलाई प्रवर्द्धन गर्दै हिमालयन क्षेत्रमा शान्ति र स्थायित्वका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ।

Share this page on:

Facebook
LinkedIn
Email